एक समय थियो, विदेशी नागरिकको नेपाल आगमन र यहीँको उच्च वर्गको भ्रमण सोखमा नेपाली पर्यटन निर्भर रहेको मानिन्थ्यो । समय फेरिएको छ, सबै वर्गका लागि आन्तरिक पर्यटन जीवनशैलीको अंग बन्दै गएको छ । यसैलाई मध्यनजर गर्दै सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा ग-यो । तर, चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को महामारीले भ्रमण वर्ष स्थगित मात्र गर्नुपरेन, यो क्षेत्र नै ठप्प बन्यो । होटेलहरू बन्द छन् भने पर्यटकीय गन्तव्यमा सन्नाटा छाएको छ ।

पर्यटन व्यवसायीहरू भने कोरोना भाइरसको संक्रमणबाट जोगिँदै त्यो सन्नाटा हटाउने उपायको खोजीमा जुटेका छन् । उनीहरूको मुख्य आशा आन्तरिक पर्यटकमा देखिन्छ । ‘अब कोरोनासँग जोगिँदै आन्तरिक पर्यटकको गतिविधि बढाउनुपर्छ,’ नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी भन्छन् ।

त्यसो त, आन्तरिक–बाह्य पर्यटकको आकर्षणको केन्द्रमा रहेका केही समुद्री बिचलाई २० अप्रिलमै खुला गरेर अस्ट्रेलियाले यसको उदाहरण पस्किइसकेको छ । भौतिक दूरी कायम गर्दै आन्तरिक पर्यटकलाई समुद्री किनारमा टहल्न दिइएको छ ।

नेपालको सन्दर्भमा सरकारी कर्मचारीलाई भ्रमण प्याकेज दिने पर्यटनमन्त्री योगेश भट्टराईको अभिव्यक्तिले पनि सरकारको ध्यान आन्तरिक पर्यटनमै रहेको देखिन्छ । ८ वैशाखमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भर्चुअल छलफलमा उनले सरकारी कर्मचारीलाई एकमहिने भ्रमण बिदा दिएर भए पनि पर्यटन क्षेत्रलाई ‘भाइब्रेन्ट’ बन्न सघाइने बताएका थिए ।

बोर्डका पूर्वसिइओ जोशी एक महिनाको बिदा सम्भव नहुँदा एक साता नै पनि पर्याप्त हुने बताउँछन् । ‘अबको नारा ‘छुट्टिमा भ्रमण’ हुनुपर्छ,’ जोशीको सुझाब छ ।

पछिल्ला वर्षमा नेपाली पर्यटनमा अन्य क्षेत्रको तुलनामा ठूलो लगानी भित्रिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै तारे होटेल, रेस्टुराँ, क्लब, केबलकार, साहसिक खेललगायतमा धमाधम लगानी भित्रिरहेको थियो । विदेशी चेन ब्रान्ड पनि लगानी लिएर नेपाल आइरहेका थिए । यही उत्साहलाई देखेर हुन सक्छ, बैंकहरूले पनि यस क्षेत्रमा करिब एक खर्ब लगानी गरेका छन्।

पर्यटकीय गतिविधि नबढेसम्म त्यो लगानी उठ्नेछैन । संसारभरका उद्योग व्यवसाय ठप्प रहेकाले रेमिट्यान्सको आप्रवाह पनि घट्दो क्रममा छ । र, देशको अर्थतन्त्र चलायमान बनाउने उपाय आन्तरिक पर्यटनले दिन सक्ने बुझाइ व्यवसायीमा देखिन्छ । तर, कोभिड–१९ विरुद्धको खोप र औषधि तयार नभएसम्म मानिसमा घुमफिरमा निस्किने आत्मविश्वास नपलाउने सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी बताउँछन् । र, मानिस घुमफिरमा ननिस्किएसम्म पर्यटन पनि अगाडि बढ्न सक्दैन ।

जसरी सरकारले सुरक्षा मापदण्ड पालना गर्दै उद्योग, कलकारखाना खोल्न अनुमति दिएको छ, त्यसरी नै सुरक्षा प्रोटोकल बनाएर आन्तरिक पर्यटन बढाउन सकिने व्यवसायीहरूको बुझाइ देखिन्छ । सार्वजनिक यातायात, होटेल, रिसोर्ट र पर्यटकीय क्षेत्रहरू डिस्इन्फेक्ट गराउँदै मानिसलाई भौतिक दूरीमा घुमफिर गर्ने वातावरण तयार भएमा कोरोना संकटबीचमै पनि आन्तरिक पर्यटकीय गतिविधि अगाडि बढाउन सकिने जोशी बताउँछन् ।

भन्छन्, ‘त्यसका लागि व्यवसायी र सरकार दुवै मिलेर सुरक्षा प्रोटोकल बनाउनुपर्छ ।’ नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका पूर्वअध्यक्ष सिएन पाण्डे त्यस्तो प्रोटोकलको मस्यौदा तयारीका क्रममा रहेको बताउँछन् । ‘त्यो मस्यौदा सरकारले स्वीकृति ग-यो भने आन्तरिक पर्यटकीय गतिविधि अगाडि बढाउन सकिनेछ,’ उनी भन्छन्, ‘कोभिड–१९ को महामारी नियन्त्रणमा आएपछिका ६–७ महिना आन्तरिक पर्यटनबाट थेग्न सकियो भने विदेशी पर्यटकको गतिविधि पनि सुरु हुनेछ ।’

बर्सेनि करिब ४० लाख नेपाली घुमफिरमा निस्किने गरेको अनुमान छ । सन् २०१९ मा मात्र करिब १३ लाख नेपालीले विदेश भ्रमण गरेका थिए । नेपाल आउने विदेशीभन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गर्ने गरेको व्यवसायीहरू बताउँछन् । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी त्यसैमा अवसर देख्छन् । भन्छन्, ‘विदेश जाने नेपालीलाई नेपाली गन्तव्यमै आकर्षित गर्नु आवश्यक छ ।’

होटेल एसोसिएसन नेपालकी अध्यक्ष सिर्जना राणा भने लकडाउनयता पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरिसकेकाले सरकारले व्यवसायीका लागि राहत प्याकेज दिनुपर्ने बताउँछिन् । राज्यले ‘इन्सेन्टिभ’ दिने, व्यवसायीले आकर्षक प्याकेज ल्याउने र पर्यटन बोर्डले प्रचार–प्रसारमा व्यापकता दिएमा आन्तरिक पर्यटन जुर्मुराउन धेरै समय नलाग्ने जोशीको भनाइ छ । ‘लकडाउनपछिको पहिलो पर्यटक आन्तरिक नै हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले, नेपाली नागरिकमार्फत बाहिरिने रकम आन्तरिक गन्तव्यमै खर्च गर्ने वातावरण बनाउन जरुरी छ ।’

Source: NayaPatrika

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय